कुलेखानी जलाशयको सतह बढ्दै, बागमती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौं । कुलेखानी जलाशयको पानीको सतह बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत कुलेखानी प्रथम जलविद्युत् केन्द्रले शुक्रबार मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै जलाशयको पानीको सतह बढिरहेको जानकारी गराएको हो ।
केन्द्रले २०८३ कात्तिक १४ गते दिउँसो १२ बजेको मापनमा जलाशयको सतह १ हजार ५२८.१५ मिटर पुग्न सक्ने जनाएको छ । पानीको बहाव र जलाशयमा भइरहेको संकलनको अवस्थालाई हेर्दा सोही दिन साँझ करिब ४ बजेसम्म जलसतह १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ । जलाशयको सतह १ हजार ५२८.५ मिटर पुगेपछि पूर्वसूचनाका रूपमा पहिलो चरणको साइरन बजाइने र एसएमएसमार्फत समेत सूचना प्रवाह गरिने केन्द्रले जनाएको छ ।
मौसम पूर्वानुमानअनुसार वर्षा क्रमशः कम हुँदै गएको र ठूलो वर्षाको सम्भावना न्यून रहे पनि जलाधार क्षेत्रमा अचानक भारी वर्षा भएमा जलाशयको पानीको सतह नियन्त्रण गर्न मुख्य ढोका (स्पिलवे गेट) खोल्नुपर्ने अवस्था आउन सक्ने केन्द्रले जनाएको छ । स्पिलवे गेट खोलिएको अवस्थामा कुलेखानी जलाशयबाट निस्कने पानीका कारण तल्लो तटीय क्षेत्रका सिस्नेरी खोला तथा बागमती नदी आसपासको जलप्रवाह अचानक बढ्न सक्ने भएकोले नदी किनारमा बसोबास गर्ने तथा आवतजावत गर्ने नागरिक जोखिममा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
सम्भावित जोखिम व्यवस्थापनका लागि जलविद्युत् केन्द्रका प्राविधिक कर्मचारीलाई फिल्ड तथा कन्ट्रोल रुममा तयारी अवस्थामा राखिएको छ । साथै, जलाशयको पानीको सतह र मौसमको अवस्थालाई निरन्तर निगरानी गरिरहेको केन्द्रले जनाएको छ । केन्द्रले इन्द्रसरोवर, भीमफेदी र बागमती गाउँपालिकाका तल्लो तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै, मकवानपुरका सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई नदी किनारका बस्तीमा पूर्वसूचना प्रवाह गर्न र आवश्यक सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
विशेषगरी सिस्नेरी खोला र बागमती नदी किनारमा बसोबास गर्ने नागरिकलाई नदीमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन र साइरन तथा एसएमएसमार्फत जारी हुने सूचनालाई गम्भीरतापूर्वक पालना गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?