चन्द्रागिरिमा ‘मर्यादित रोजगारी तथा सामाजिक सुरक्षा प्रशिक्षण’
काठमाडौं । चन्द्रागिरि नगरपालिका–४, थानकोटस्थित भिन्तुना रिसोर्टमा ‘मर्यादित रोजगारी, सामाजिक सुरक्षा प्रशिक्षण कार्यक्रम’ सुरु भएको छ ।
हेभन (HEVON) र पीएसआई (PSI) को संयुक्त आयोजनामा ‘Community Health Work is Work’ अर्थात् ‘सामुदायिक स्वास्थ्य कार्य पनि श्रम हो’ भन्ने नाराका साथ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले स्वास्थ्य स्वयम सेविकाहरुलाई सामाजिक सुरक्षामा जोड्न आफू हरपल तयार रहेको बताउनु भयो । प्रमुख गिरीले अन्य नगरपालिकाको तुलनामा चन्द्रागिरि नगरपालिकामा स्वास्थ्य सेवा पहुँच एकदमै राम्रो व्यवस्थित रहेको दाबी समेत गर्नुभयो । उहाँले स्वास्थ्य स्वयम सेविकाहरुको योगदान र कार्यको प्रशंसा समेत गर्नुभयो ।
उपप्रमुख बसन्ती श्रेष्ठले स्वास्थ्य स्वयम् सेविकाहरुको सेवा सुविधाप्रति रहेको गुनासो नगरपालिकाले केही मात्रामा भए पनि सम्बोधन गर्न सफल भएको बताउनुभयो । उपप्रमुख श्रेष्ठले स्वयम सेविकाहरुलाई नगरपालिकाको तर्फबाट अझै केही गर्न बाँकी रहेकोले त्यसतर्फ पनि आफूले केही योजना बनाएको बताउनुभयो ।
कार्यक्रमको मुख्य उद्देश्य सामुदायिक स्वास्थ्य तथा श्रम क्षेत्रमा कार्यरत श्रमिकहरूको मर्यादित रोजगारी सुनिश्चित गर्नुका साथै उनीहरूलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्न आवश्यक ज्ञान, सीप र सचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ ।
प्रशिक्षणमार्फत सामुदायिक स्वास्थ्य क्षेत्रमा कार्यरत श्रमिकहरूको श्रमको पहिचान, रोजगारीको मर्यादा, श्रमिक अधिकार तथा सामाजिक सुरक्षाको महत्वबारे छलफल र अन्तरक्रिया हुनेछ । सामुदायिक स्वास्थ्य क्षेत्रमा कार्यरत श्रमिकको योगदानको उचित मूल्यांकन गर्दै उनीहरूको श्रम अधिकार र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि कार्यक्रमले सहयोग पुर्याउने विश्वास लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?