काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई नुवाकोटमा अस्थायी बसोबास गरिरहेका रसुवाको उत्तरगया गाउँपालिकाका बासिन्दालाई नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले प्रभावित नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले उनीहरू बसेकै होल्डिङ सेन्टरमा पुगेर आवेदन संकलन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले गत भदौ १० गते आएको भीषण बाढीले नागरिकतासहित महत्वपूर्ण कागजात नष्ट भएका प्रभावितलाई राहत, पुनःस्थापना तथा अन्य प्रशासनिक काममा सहजता प्रदान गर्न यो व्यवस्था मिलाइएको जनाएको छ । नुवाकोटको पिपलटारस्थित होल्डिङ सेन्टरमा बस्दै आएका उत्तरगया गाउँपालिका–१ का २०२ जनाले नागरिकताको प्रतिलिपिका लागि दिएको आवेदन संकलन गरी आइतबार रसुवाको सदरमुकाम धुन्चे ल्याइएको छ ।
संकलित आवेदनको अध्ययन तथा आवश्यक प्रमाणीकरण पूरा भएपछि नागरिकताको प्रतिलिपि होल्डिङ सेन्टरमै पुगेर वितरण गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । यसबाट कागजात हराएका बाढी प्रभावितलाई प्रतिलिपि लिन जिल्ला प्रशासन कार्यालयसम्म आउनुपर्ने झन्झट कम हुनुका साथै आवश्यक सरकारी सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजना र उत्तरगया गाउँपालिकाको विशेष पहलमा सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष माधव अर्यालले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?