काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म संचालन हुने जनाएको छ । यस प्रतियोगिताले सन् २०२७ मा हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
प्रतियोगितामा आइसीसी क्रिकेट विश्वकप लिग–२ का अन्तिम चार टोली तथा क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठ टोली सहभागी हुनेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चारभित्र पर्ने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।
नेपालका लागि यो प्रतियोगिता घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै विश्वकप छनोटको अर्को चरणमा पुग्ने अवसरका रूपमा रहनेछ । नेपालले यसअघि पनि एकदिवसीय विश्वकप छनोटमा सहभागिता जनाइसकेको छ । अब आगामी प्रतियोगितामा शीर्ष चारभित्र पर्न सके नेपालले लगातार दोस्रोपटक विश्वकप छनोटमा पुग्ने अवसर प्राप्त गर्नेछ ।
यसैबीच, विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ टोलीबीचको क्रिकेट शृङ्खलाको पूर्वनिर्धारित तालिका प्रभावित हुने भएको छ । उक्त शृङ्खलाको नयाँ मिति तय गर्न दुवै क्रिकेट निकायबीच समन्वय गरिने क्यानले जनाएको छ ।
विश्वकप छनोटको लक्ष्यसहित मैदानमा उत्रिने नेपालका लागि प्रतियोगिताको तयारी र प्रदर्शन दुवै निर्णायक हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?