काठमाडौं । बडादशैँको टीकाको दोस्रो दिन मान्यजन तथा आफन्तबाट रातो टीका र जमरा ग्रहण गर्दै आशीर्वाद लिने क्रम जारी छ । विजयादशमीका दिन घरपरिवारका सदस्यसँग टीका लगाएका सर्वसाधारण आज टाढा रहेका आफन्त, नातेदार तथा ज्येष्ठ सदस्य कहाँ पुगेर दशैँको शुभकामना र आशीर्वाद लिइरहेका छन् ।
विजयादशमीका दिन भेटघाट गर्न नसकेका तथा टाढा रहेका मान्यजनबाट टीका लगाउन बाँकी रहेकाहरूले आजदेखि कोजाग्रत पूर्णिमासम्म आफन्तकहाँ पुगेर टीका र जमरा ग्रहण गर्ने चलन छ ।
नेपालका विभिन्न समुदाय र स्थानमा दशैँको टीका लगाउने परम्परामा केही भिन्नता पाइन्छ । कतिपय ठाउँमा विजयादशमीका दिन मात्रै टीका लगाउने प्रचलन रहे पनि धेरै स्थानमा भने कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा कायम छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नवदुर्गा भवानीको प्रसादका रूपमा ग्रहण गरिने टीका र जमरा कोजाग्रत पूर्णिमासम्म लगाउने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?