प्रधानमन्त्री साहले दिए विजया दशमीको शुभकामना, भ्रष्टाचार र कुशासन अन्त्यका लागि एकजुट हुनु सुझाव
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन, प्रशासनिक ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै नागरिक एकताबद्ध हुनुपर्ने बताउनु भएको छ ।
विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले देशमा सुशासन र सकारात्मक परिवर्तनका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री साहले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको शुभकामना सन्देशमा प्रत्येक नागरिकलाई राज्य आफ्नो साथमा रहेको अनुभूति दिलाउन सरकार र नागरिक दुवैको इमानदार प्रयास, दृढ संकल्प र साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो ।
विजयादशमीलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयका रूपमा व्याख्या गर्दै उहाँले समाजमा रहेका नकारात्मक प्रवृत्तिविरुद्ध एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृतिलाई समाजका चुनौतीका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री साहले परिवर्तनका लागि सोचमा मात्र नभई व्यवहारमा समेत सुधार ल्याउनुपर्ने सन्देश दिनुभएको छ ।
दुर्गा भवानीले आसुरी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको पौराणिक प्रसङ्ग स्मरण गर्दै उहाँले विजयादशमीले मानिसभित्र रहेका अहंकार, लोभ, ईष्र्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल भौगोलिक, सांस्कृतिक र भाषिक विविधताले समृद्ध मुलुक भएको उल्लेख गर्दै प्रधानमन्त्री साहले दशैँले विभिन्न वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई आपसी सद्भाव र एकताको सूत्रमा बाँध्ने बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?