जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन, तान्त्रिक र वैदिक विधिबाट पूजा
काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानी मन्दिरमा जीवित देवी कुमारीलाई विशेष धार्मिक विधिअनुसार दर्शन गराइएको छ । परम्पराअनुसार मंगलबार राति तान्त्रिक तथा वैदिक विधि सम्पन्न गर्दै कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो ।
धार्मिक मान्यताअनुसार तलेजु भवानीको दर्शनबाट शक्ति प्राप्त हुने विश्वास छ । सोही परम्परालाई निरन्तरता दिँदै कुमारीलाई कुमारी घरबाट रथयात्रासहित सुरक्षित रूपमा तलेजु मन्दिर परिसरमा पुर्याइएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिनुभयो ।
कुमारीलाई दर्शन गराउने प्रयोजनका लागि तलेजु भवानीलाई मन्दिरबाट मूल चोकमा सारिएको थियो । त्यसपछि निर्धारित धार्मिक विधिअनुसार दर्शनको प्रक्रिया सम्पन्न गरिएको हो ।
काठमाडौंको हनुमानढोका दरबार परिसरमा अवस्थित तलेजु भवानी मन्दिर नेपाली धार्मिक तथा सांस्कृतिक इतिहासको महत्त्वपूर्ण धरोहर मानिन्छ । तीनतले प्यागोडा शैलीमा निर्मित यस मन्दिरलाई मल्लकालीन राजाहरूले आफ्नो कुलदेवीका रूपमा आराधना गर्ने गरेको ऐतिहासिक विवरण पाइन्छ ।
जीवित देवी कुमारी र तलेजु भवानीबीचको धार्मिक सम्बन्ध काठमाडौं उपत्यकाको मौलिक सांस्कृतिक परम्परासँग जोडिएको छ । पुस्तौँदेखि चल्दै आएको यस प्रकारको धार्मिक अनुष्ठानले उपत्यकाको जीवन्त सम्पदा, आस्था र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?