काठमाडौं । नेपाली सेनाको सहयोगमा ठूला चट्टानसहितको पहिरो हटाइएपछि नेपाल–चीन सीमासँग जोड्ने रणनीतिक महत्वको खाँदबारी–किमाथाङ्का सडक पुनःसंचालनमा आएको छ । भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा पहिरो खसेपछि करिब तीन महिनादेखि अवरुद्ध सडक सोमबार साँझदेखि पुनः संचालनमा आएको हो । सडक खुलेसँगै उत्तरी सीमावर्ती क्षेत्रको आवागमन र सामान ढुवानी सहज हुने अपेक्षा गरिएको छ ।
गत साउनमा छुम्सुर क्षेत्रमा विशाल चट्टानसहितको पहिरो खसेपछि उक्त सडकमा सवारीसाधनको आवतजावत पूर्णरूपमा बन्द भएको थियो । किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट करिब १४१ किलोमिटर दूरीमा रहेको अवरोध हटाउन उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनासँग सहयोग मागेको थियो । सोहीअनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गणअन्तर्गत छुम्सुर पोस्टबाट खटिएको टोलीले विस्फोटक पदार्थ प्रयोग गरी ठूला चट्टानलाई साना टुक्रामा विभाजन गरेको थियो ।
सडक अवरुद्ध हुँदा स्थानीयवासीको दैनिक आवागमन, खाद्यान्न तथा अन्य सामग्रीको ढुवानी र जनजीवन प्रभावित भएको थियो । सडकका अन्य खण्डमा भने नियमित मर्मतसम्भारमार्फत यातायात संचालन भइरहेको आयोजनाले जनाएको छ ।
कुल १६२ किलोमिटर लामो खाँदबारी–किमाथाङ्का सडकको १०.८ किलोमिटर निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो । कठिन भूगोलका कारण हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी सडक निर्माण सम्पन्न गरेको सेनाले गत वैशाखमा आयोजना हस्तान्तरण गरेको थियो । चीनसँगको किमाथाङ्का नाका जोड्ने यो सडक कोशी प्रदेशको उत्तरी क्षेत्रका लागि महत्वपूर्ण मानिन्छ ।
किमाथाङ्का–जोगबनी सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएमा चीन र भारतबीचको आवागमन तथा व्यापारिक सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट संखुवासभासहित धनकुटा, तेह्रथुम, भोजपुर, सुनसरी, मोरङ र झापाका बासिन्दा लाभान्वित हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?