बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माणमा चार अर्बसम्म लाग्ने
काठमाडौं । चीन र भारतलाई जोड्ने रणनीतिक महत्वको बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र नदी कटानले सडकका विभिन्न खण्डमा ठूलो क्षति पुर्याएको हो । क्षतिग्रस्त सडकलाई पुरानै अवस्थामा फर्काउन तीनदेखि चार अर्ब रुपैयाँसम्म बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।
आयोजना प्रमुख तेजस्वी शर्माले कालीगण्डकी नदीको बाढीले १० स्थानमा सडक बगाएको तथा भत्काएको छ भने करिब ५० ठाउँमा पहिरोले क्षति पुर्याएको छ । सडकमा ८० देखि ९० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आँकलन रहे पनि अस्थायी मर्मत गरेर यातायात संचालनमा ल्याउनु र सडकलाई पूर्णरूपमा पुनर्निर्माण गर्नु फरक विषय भएको उहाँले बताउनुभयो । तत्कालीन मर्मतपछि दुई साताभित्रै सडक संचालनमा ल्याइए पनि दीर्घकालीन पुनर्निर्माणका लागि थप ठूलो बजेट आवश्यक पर्ने उहाँले उल्लेख गर्नुभयो ।
पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङको कोरला नाकासम्म फैलिएको २०२ किलोमिटर लामो सडकमा सबैभन्दा बढी क्षति म्याग्दी खण्डको ३३ किलोमिटर क्षेत्रमा भएको छ । यसअघि पहिरो र कटानको जोखिममा रहेका स्थानसँगै नयाँ क्षेत्रमा समेत समस्या देखिएको छ । पर्वतको फर्से, केराबारी र लामाबगरदेखि म्याग्दीका बैसरी, महभिर, भिरकाटे, रातोपानी, तातोपानी, गुइँठेभिर र खामभित्तालगायत क्षेत्रमा बाढी, पहिरो तथा कटानले सडक आवागमन प्रभावित बनाएको छ ।
कोरला नाकासँगको व्यापारिक सम्बन्ध र मुस्ताङको पर्यटनका दृष्टिले महत्वपूर्ण मानिने यो सडकको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ । केही दिनअघि क्षतिग्रस्त सडकको निरीक्षण गर्नुभएका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै कामलाई तीव्रता दिन निर्देशन दिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?