काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित नागथानमा टाटा सुमो सुनकोशी नदीमा खस्दा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो अनियन्त्रित भई आज बिहान नदीमा खसेको हो ।
प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला सुमोमा १० जना सवार थिए । दुर्घटनामा तीन जना बेपत्ता भएका छन् भने चार जनाको उद्धार गरी उपचारका लागि स्थानीय घुर्मीस्थित स्वास्थ्य संस्थातर्फ पठाइएको छ ।
दुर्घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस खुर्कोटबाट ९ जना गोताखोरसहित १० जनाको टोली घटनास्थलमा खटाइएको छ ।
त्यसैगरी, ओखलढुङ्गाको हर्कपुरस्थित अस्थायी मनसुन बेसबाट १० जना सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले पनि उद्धार तथा खोजी कार्य गरिरहेको छ ।
दुर्घटनाको कारण र घटनासम्बन्धी थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?