काठमाडौं । बडादशको आठौँ दिन आज महाअष्टमी पर्व देशभर दुर्गा भवानीको विशेष पूजाआराधना गरी मनाइँदै छ । आश्विन शुक्ल अष्टमीका अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ ।
धार्मिक मान्यताअनुसार महाअष्टमीलाई देवी शक्तिको आराधना र आसुरी प्रवृत्तिमाथि विजयको कामना गर्ने महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ । महाअष्टमीका दिन दशैँघर, कोत तथा विभिन्न शक्तिपीठमा विशेष पूजाआराधना गरिनुका साथै परम्पराअनुसार पशुबलि दिने चलन छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गरेर देवीको उपासना गरिन्छ ।
आज काठमाडौं उपत्यकाको गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, दक्षिणकाली, बज्रयोगिनीलगायत शक्तिपीठमा बिहानैदेखि पूजाआराधना गर्ने भक्तजनको भीड लागेको छ । उपत्यकाबाहिर गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, काभ्रेपलाञ्चोकको चण्डेश्वरी तथा पलाञ्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती र ताप्लेजुङको पाथीभरालगायत धार्मिक स्थलमा पनि विशेष पूजा गरिन्छ ।
महाअष्टमीका दिन घरघरमा प्रयोग हुने कलपुर्जा, हातहतियार तथा सवारीसाधन सफा गरी देवीको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ । पशुबलि नदिने परिवारले आफ्नो कुलपरम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला तथा नरिवल चढाएर पूजा गर्ने गर्छन् । महाअष्टमीको रात हनुमानढोकास्थित दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने परम्परासमेत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?