कालरात्रि देवीको विधिपूर्वक पूजा गरिंदै, पूजाकोठामा फूलपाती भित्र्याइँदै
काठमाडौं । बडादशैँको सातौँ दिन आज घरघरमा फूलपाती भित्र्याउनुका साथै नवदुर्गामध्ये सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजाआराधना गरिँदै छ । दुर्गा पक्षको महत्त्वपूर्ण दिनका रूपमा लिइने फूलपातीका अवसरमा दशैँ घर तथा पूजा कोठामा विशेष पूजा गरिन्छ ।
वैदिक सनातन परम्पराअनुसार आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा गर्ने चलन छ । कालरात्रिलाई अन्धकार, भय र विनाशमाथि विजय प्राप्त गराउने शक्तिका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार काललाई समेत नष्ट गर्न सक्ने देवी भएकाले उहाँको स्वरूपलाई कालरात्रि भनिएको हो । विभिन्न धार्मिक ग्रन्थमा देवीको वर्ण कृष्ण र स्वरूप भयंकर रहेको उल्लेख छ ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी दशैँ घर वा पूजा कोठामा जौको जमरा राखेर दुर्गा देवीको आराधना सुरु गरिएको थियो । त्यसयता क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता र कात्यायनी देवीको पूजा गरिएको छ । आज सातौँ दिन कालरात्रिको पूजा गरिन्छ भने आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको आराधना गर्ने परम्परा छ ।
नवरात्रका नौ दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा स्तोत्र पाठ गरी देवीको उपासना गरिन्छ । देवीको आराधनाबाट शक्ति, समृद्धि र ज्ञान प्राप्त हुने धार्मिक विश्वास छ । यस अवधिमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको चहलपहल बढ्ने गर्छ ।
फूलपातीलाई दशैँको विशेष सांस्कृतिक तथा धार्मिक परम्पराका रूपमा लिइन्छ । वैदिक विधिअनुसार आज अपराह्न घरको दशैँ घर वा पूजा कोठामा फूलपाती भित्र्याइन्छ । नवरात्रमा गरिएको पूजाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्पराअनुसार नेपालीले १५ दिनसम्म बडादशैँ मनाउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?