संशोधन–मण्डलको पुस्तक मेला सम्पन्न, इतिहास र संस्कृतिका कृतिमा पाठकको रुचि
काठमाडौं । नेपालको इतिहास, संस्कृति र प्राचीन ज्ञानपरम्परासम्बन्धी अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले संशोधन–मण्डलले आयोजना गरेको छ दिने पुस्तक मेला उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ । असोज २५ देखि ३० गतेसम्म संचालित मेलामा इतिहास, संस्कृति, भाषा, लिपि तथा प्राचीन ज्ञानसँग सम्बन्धित विभिन्न पुस्तक र अनुसन्धानमूलक सामग्री राखिएका थिए ।
संशोधन–मण्डलले आफ्नो प्रकाशन यात्राको ७४ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको मेलामा संस्थाद्वारा प्रकाशित इतिहास, संस्कृत, गणित, ज्योतिष, प्राचीन ब्राह्मी लिपि तथा अन्य लिपिसम्बन्धी पुस्तक समावेश गरिएको थियो । ऐतिहासिक सामग्रीको खोज, परीक्षण र विश्लेषणमा आधारित प्रकाशनले नेपालको विगत, सांस्कृतिक सम्पदा र ज्ञानपरम्पराको अध्ययन गर्न चाहने पाठकलाई उपयोगी सामग्री उपलब्ध गराएको थियो ।
संस्थाका अध्यक्ष तथा इतिहासविद् महेशराज पन्तले इतिहासको अध्ययन र लेखनमा तथ्य तथा प्रमाणको महत्व औँल्याउनु भयो । उहाँले इतिहासलाई स्वार्थअनुकूल व्याख्या गर्ने प्रवृत्तिले ऐतिहासिक तथ्य बंग्याउन सक्ने उल्लेख गर्दै प्रमाणमा आधारित इतिहास लेखन आवश्यक रहेको धारणा राख्नुभयो ।
पन्तले मेलाबाट पुस्तक बिक्री गरी प्राप्त रकम इतिहास र संस्कृतिसँग सम्बन्धित हस्तलिखित ग्रन्थको प्रकाशन तथा तयारी अवस्थामा रहेका पुस्तक छपाईमा खर्च गरिने जानकारी दिनुभयो । उहाँले इतिहास लेखनमा देखिएका त्रुटि र भ्रमलाई तथ्य तथा प्रमाणका आधारमा सच्याउने उद्देश्यले स्थापित संशोधन–मण्डलले लामो समयदेखि नेपाली इतिहासको अनुसन्धान र लेखनमा योगदान दिँदै आएको समेत बताउनु भयो ।
पुस्तक मेलाको अन्तिम दिन इतिहासविद्, संस्कृतिविद्, पुरातत्त्वविद्, इतिहासका अध्येता, पाठक तथा राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?