चाडपर्वमा स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ बिक्री गर्न विभागको निर्देशन
काठमाडौं । दशैँ, तिहार र छठलगायतका चाडपर्वमा खाद्य पदार्थको माग र यात्रुको चाप बढ्ने भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले होटल, रेस्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय संचालकलाई स्वच्छता र गुणस्तरमा ध्यान दिन निर्देशन दिएको छ ।
विभागले बिहीबार सूचना जारी गर्दै विशेषगरी राजमार्गमा यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्री गर्न आग्रह गरेको हो । विभागले उपभोग्य म्याद कायम रहेका खाद्य सामग्री बिक्री गर्न, पकाएको र नपकाएको खाना छुट्टाछुट्टै राख्न तथा खाद्य पदार्थ सुरक्षित तापक्रममा भण्डारण गर्न भनेको छ ।
खाना पकाउने भान्सा, वितरण गर्ने स्थान र वरपरको परिसर सफा राख्न, कामदारको व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा सफा भाँडाकुँडा र स्वच्छ पानी प्रयोग गर्न पनि विभागले सचेत गराएको छ । गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी खाना राम्ररी पकाएर मात्र उपभोक्तालाई दिनुपर्ने उल्लेख गर्दै विभागले बासी, सडेगलेका, झिँगा भन्केका वा धुलो तथा फोहोर पानीबाट दूषित भएका खाद्य पदार्थ बिक्री नगर्न निर्देशन दिएको छ ।
खाद्य पदार्थको प्रकृतिअनुसार चिसो वा तातो तापक्रममा सुरक्षित राख्न तथा उचित मूल्यमा बिक्री गर्न पनि व्यवसायीलाई आग्रह गरिएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ का प्रावधान पालना नगर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही हुने विभागले जनाएको छ ।
यसका साथै विभाग वा मातहतका कार्यालयबाट खाद्य स्वच्छताका आधारमा व्यवसायको स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय संचालन गर्न पनि विभागले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?