काठमाडौं । कोशी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा हुने दुई दिने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ आजबाट विराटनगरमा सुरु हुँदैछ । विराटनगरस्थित बिग होटलमा हुने सम्मेलनमा अन्तरप्रदेशीय समन्वय, संघीयताको संस्थागत सुदृढीकरण तथा विकास साझेदारीका साझा एजेन्डामा छलफल गर्दै ‘कोशी घोषणा–२०८३’ जारी गर्ने कार्यतालिका तय गरिएको छ । सातै प्रदेशबीचको सम्बन्ध प्रगाढ बनाउने तथा साझा अधिकारको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनको दोस्रो दिन सातै प्रदेशबीच विकास साझेदारीका विषयमा साझा प्रतिबद्धतासहितको कोशी घोषणा–२०८३’ जारी गरिनेछ । घोषणापत्रमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले हस्ताक्षर गर्ने कार्यतालिका छ । दिउँसो १२ः३० बजे पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरेपछि प्रतिनिधिमण्डल कोशीटप्पु वन्यजन्तु आरक्षको अवलोकन भ्रमणमा निस्कने कार्यक्रम छ ।
सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका मुख्यमन्त्रीहरू विराटनगर पुगिसकेका छन् । सम्मेलनमा प्रत्येक प्रदेशबाट मुख्यमन्त्री, प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्तासहितको प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?