काठमाडौं । बडादशैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नवदुर्गा मध्येकी ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । यस अवसरमा देशभरका घरघरमा स्थापित दशैँघर तथा पूजा कोठामा देवीको आह्वान गरी धार्मिक विधिअनुसार पूजापाठ गर्ने परम्परा छ ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जौँको जमरा राखिएको स्थानमा आज ब्रह्मचारिणी देवीको पूजा गरिन्छ । नौ दिनसम्म चल्ने यस अवधिमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने चलन छ । वैदिक सनातन धर्मावलम्बीले शक्ति, ज्ञान, ऐश्वर्य र सुख–समृद्धिको कामना गर्दै नवरात्रमा दुर्गा भवानीको आराधना गर्ने गर्छन् ।
धार्मिक मान्यताअनुसार ब्रह्मचारिणी देवी तपस्या, संयम र साधनाको प्रतीक हुन् । ब्रह्मको ज्ञान प्राप्ति तथा साधनामा निरन्तर लागिरहने स्वरूपका रूपमा उनको पूजा गरिन्छ । नवरात्रका नौ दिन देवीका विभिन्न स्वरूपको आराधना गरी विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गर्ने परम्परा छ ।
नवरात्रको अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा पूजाआजा र दर्शनका लागि भक्तजन पुग्ने क्रम जारी छ । काठमाडौंको हनुमानढोका दरबारस्थित दशैँघरमा पनि परम्पराअनुसार ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदैछ । दशैँघरमा राज्यका तर्फबाट नवरात्रभर नवदुर्गाको पूजा गर्ने परम्परा रहिआएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?