सिद्धिखर सहकारीको १०औं साधारणसभा भव्यरुपमा सम्पन्न, बचतकर्ताको विश्वास पहिलो प्राथमिकता
काठमाडौं । चन्द्रागिरि नगरपालिका–६ मा रहेको सिद्धिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा–६ का वडाध्यक्ष सञ्जय सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष सिग्देलले सञ्चालक समितिको इमान्दारिताका कारण सिद्धिखर सहकारी संस्थाले आज यो दशौं वार्षिकोत्सव भव्यरुपमा सम्पन्न गर्न सकेको बताउनु भयो । अध्यक्ष सिग्देलले सहकारी संस्थालाई सिध्याउन अन्य वित्तिय संस्था लागिपर्दा केही समय सहकारीहरुमा समस्या देखिएको बताउनु भयो । तर, सहकारीका सञ्चालकहरुको इमान्दारिता, लगनशिलताका कारण अहिले त्यो समस्या नरहेको सिग्देलको भनाइ छ । अध्यक्ष सिग्देलले सहकारी संस्थाले अब उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै घरजग्गा तथा सवारीसाधनको कारोबारमा केन्द्रित नभइ स्थानीय उत्पादन, उद्यम र रोजगारी प्रवद्र्धनमा लगानी गर्न सञ्चालकलाई आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष श्रीराम लामिछानेले जबसम्म सरकारले रोजगारीको अवस्था सिर्जना गर्न सक्दैन तबसम्म आर्थिक लक्ष्य प्राप्त गर्न नसक्ने बताउनुभयो । अध्यक्ष लामिछानेले बचतकर्ताको विश्वासलाई प्राथमिकतामा राखेर संस्था संचालन गर्दै आएको बताउनुभयो । ९ वर्ष अघि २५ जना शेयर सदस्यको १० लाख रुपैयाँ शेयर पूँजिबाट सुरु गरेको संस्था हालसम्म आइपुग्दा एक हजार १९ जनाबाट १ करोड ३५ लाख ४६ हजार ८ सय शेयर पूँजि पुर्याउन सफल भएको जानकारी दिनुभयो । अध्यक्ष लामिछानेले सहकारीलाई आर्थिक रूपमा सक्षम व्यक्तिको मात्र नभई विपन्न तथा निम्न आय भएका व्यक्तिहरुलाई समेत सहयात्री बनाउने उद्देश्यले काम गर्दै आएको बताउनुभयो । सदस्यको विश्वास र संचालक समितिको जिम्मेवारीपूर्ण भूमिकाले छोटो समयमा नै संस्था अघि बढ्न सफल भएको अध्यक्ष लामिछानेको दाबी छ ।
साधारण सभामा संस्थाको प्रगति, आर्थिक गतिविधि तथा आगामी योजनाका विषयमा छलफल गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?