काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्र भ्रष्टाचार, अनियमितता र विकृतिमा शून्य सहनशीलताको नीति अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।े थापाले पार्टीको खस्किएको साख पुनःस्थापना गर्ने, जनविश्वास फर्काउने र पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः जोड्ने दाबी समेत गरेका छन् ।
निर्वाचित भएपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मी, नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसलाई सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा उभ्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीसँग आबद्ध भएकै आधारमा कसैले पनि भ्रष्टाचार वा अनियमिततामा उन्मुक्ति नपाउने सभापति थापाको तर्क छ ।
निर्वाचनलाई कसैको जित वा हारका रूपमा नलिन आग्रह गर्दै अब सबैलाई जिम्मेवारी र अपनत्वको अनुभूति हुने गरी पार्टी अघि बढाउने बताउँदै थापाले महाधिवेशनमा प्रतिस्पर्धा भए पनि त्यसपछि सबै पक्षलाई समेटेर कांग्रेसलाई एकताबद्ध, सुदृढ र गतिशील बनाउनु आफ्नो दायित्व रहेको स्पष्ट पारे ।
सभापति थापाले कांग्रेसलाई चुनाव जित्ने संगठनमा मात्र सीमित नराखी जनताको विश्वास र भरोसाको केन्द्रका रूपमा स्थापित गर्ने संकल्प समेत गरेका छन् । नेतृत्व र कार्यशैलीमा सुधार गर्दै आम नागरिकले पार्टीप्रति राखेको अपेक्षा पूरा गर्नुपर्नेमा थापाको जोड छ ।
कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापा सामु पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्ने, विभिन्न समूहबीच समन्वय कायम गर्ने र संगठनलाई एकताबद्ध बनाउने चुनौती छ । सुशासन, पारदर्शिता र संगठनात्मक सुधारका प्रतिबद्धता कार्यान्वयन गर्नु नयाँ नेतृत्वका लागि प्रमुख चुनौती हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?