काठमाडौं । प्रहरीले देशका १२ जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ । नियमित गस्ती तथा जाँचका क्रममा उनीहरू पक्राउ परेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको हो ।
प्रहरीले काठमाडौंको तारकेश्वरबाट आठ जनालाई खैरो हेरोइन र ३० हजार रुपैयाँसहित पक्राउ गरिएको छ । उदयपुरको बेलका नगरपालिका–१ बाट पाँच किलोग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।
त्यस्तै, भक्तपुरको मध्यपुर थिमि–१ लोकन्थलीबाट ट्रामाडोलका एक हजार ६१० ट्याब्लेट, नाइट्राभेटका २६ ट्याब्लेट र ६७ हजार ४ सय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । बाँकेको डुडुवा गाउँपालिका–१ पिपरहवाबाट १० किलोग्राम गाँजासहित रामनरेश कुर्मी पक्राउ परेको प्रहरीले जनाएको छ ।
यसैगरी, काठमाडौंको सुन्धारा, सुनसरी, ललितपुर, दाङ, नवलपरासी पूर्व, झापा, मोरङ, कास्की र कैलालीका विभिन्न स्थानबाट पनि लागुऔषधसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा व्यक्तिहरू पक्राउ परेका छन् ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?