आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायम रहेकाले आज देशका अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातसँगै केही स्थानमा असिनासहित वर्षा हुन सक्ने जनाइएको छ ।
मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार आज राति पनि कोशी प्रदेशका सबै भूभागसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?