काठमाडौं । चाडपर्वका बेला राजधानीबाट बाहिरिने तथा काठमाडौं भित्रिने यात्रुलाई आवश्यक सूचना र सहजीकरण उपलब्ध गराउने उद्देश्यले नयाँ बसपार्कमा ‘चाडपर्व लक्षित यात्रु सहायता कक्ष–२०८३’ संचालनमा ल्याइएको छ ।
शुक्रबार नयाँ बसपार्कमा आयोजित कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरसहित सम्बन्धित निकायका प्रतिनिधिको उपस्थितिमा सहायता कक्षको शुभारम्भ गरिएको हो । चाडपर्वका समयमा यात्रुको आवागमन बढ्ने भएकाले यात्रा व्यवस्थापनलाई सहज बनाउन सहायता कक्ष स्थापना गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा संचालनमा आएको सहायता कक्षमा यातायात व्यवस्था विभाग, काठमाडौं महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरसँग सम्बन्धित विभिन्न संघसंस्थाले सहकार्य गरेका छन् ।
यात्रु सहायता कक्ष संचालनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, ल्होत्से बहुउद्देश्यीय प्रा.लि., सिप्रदी ट्रेडिङ प्रा.लि. तथा यातायात मजदुरसम्बद्ध संघसंस्थाको सहकार्य रहेको छ ।
चाडपर्वको समयमा यात्रुको चाप बढ्दा टिकट, यातायात सेवा तथा यात्रासँग सम्बन्धित समस्या आउन सक्ने भएकाले सहायता कक्षमार्फत यात्रुलाई आवश्यक जानकारी तथा सहजीकरण उपलब्ध गराउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । यात्राका क्रममा देखिएका समस्या सम्बन्धित निकायसम्म पुर्याउन पनि सहायता कक्षले समन्वय गर्नेछ ।
चाडपर्वलाई लक्षित गरी संचालनमा ल्याइएको यस व्यवस्थाले नयाँ बसपार्कबाट यात्रा गर्ने यात्रुलाई सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ । साथै, विभिन्न निकायबीचको समन्वयबाट सार्वजनिक यातायात संचालनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?