काठमाडौं । सोह्रश्राद्ध सुरु भएसँगै पितृतर्पण गर्न दैनिक हजारौँको संख्यामा तीर्थालु पुग्ने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनी अहिले सुनसान छ ।
विनाशकारी भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण भदौ महिनामा तीर्थालुको चहलपहल ह्वात्तै घटेको मुस्ताङमा गत असोज ८ देखि ११ गतेको वर्षाका कारण राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको मालढुंगा–बेनी–जोमसोम–कोरला सडकखण्ड बाढीपहिरो र नदी कटानका कारण अवरुद्ध भएपछि तीर्थालुविहीन भएको छ ।
बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण बेनी–जोमसोम सडकखण्डको ७९ किलोमिटरमा पैदलयात्रा गर्न नसकिने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्ध स्थलमा पितृतर्पणका लागि कोरोना समयमा सबैभन्दा न्यून रहेको स्थानीयहरुले बताएका छन् ।
स्थानीयका अनुसार मुस्ताङभित्र रहेका कर्मचारी, रोकिएका नेपाली तथा भारतीय तीर्थालु कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पणका लागि आउने गरेका छन् । मुस्ताङमा यस पटकको सोह्रश्राद्ध अवधिभर तीर्थालुको आगमन दशकौँपछिको पहिलो भएको बताइएको छ । पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि नेपालका साथै छिमेकी भारतबाट समेत हिन्दु धर्मावलम्बी आउने गरेका छन् । कागबेनीमा पितृतर्पणका लागि अन्य समयमा पनि अनुकूल हुने भएकाले सडक सञ्जाल खुलेपछि भिड लाग्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?