काठमाडौं । धनुषाको बिदेह नगरपालिकाबाट अपहरणमा परेका १५ महिने बालकलाई प्रहरीले १२ दिनपछि सकुशल उद्धार गरिएको छ । घटनामा संलग्न रहेको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिदेह नगरपालिका–६ का कमलेश महतोका १५ महिने छोरा सिद्धान्त महतो भदौ १८ गतेदेखि सम्पर्कविहीन भएका थिए । खोजी तथा अनुसन्धानलाई निरन्तरता दिएको प्रहरीले बालकलाई बिदेह नगरपालिका–१ स्थित दशगज्जा क्षेत्रबाट गएराति सकुशल फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बालकलाई छाडेर भाग्न खोजेको अवस्थामा कमला नगरपालिका–९ की पुनितादेवी पासवानलाई पक्राउ गरिएको हो ।
बालक हराएको सूचना प्राप्त भएपछि प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी विभिन्न कोणबाट खोजी तथा अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा बालकलाई राखिएको स्थान पत्ता लागेपछि प्रहरी टोली त्यहाँ पुगेको र प्रहरीको उपस्थितिपछि बालकलाई छाडेर भाग्न खोज्दा महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उद्धारपछि बालकलाई आवश्यक प्रक्रिया पूरा गरी अभिभावकको जिम्मा लगाइएको छ ।
पक्राउ परेकी महिलाविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन र ओसारपसारसम्बन्धी अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?