काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका वडा नं. २ झिलस्थित पूर्व–पश्चिम राजमार्गमा मिनी ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका गौरीगंगा नगरपालिका–२ निवासी भरत देउवाका ५ वर्षीय छोरा लेखराज देउवालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका लेखराजको टाउको र छातीमा चोट लागेको थियो । उनको माया मेट्रो अस्पताल, धनगढीमा उपचारको क्रममा बिहान ९ः२० बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन् ।
मिनी ट्रकका चालक कैलाली, लम्कीचुहा नगरपालिका–२ बस्ने २९ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?