काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले बेलकोटगढी नगरपालिका–८ र विदुर नगरपालिका–३ जोड्ने ठूलोखोलास्थित झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीयको आवतजावत प्रभावित भएको छ ।
बाढीले आसपासका अन्य झोलुङ्गे तथा मोटरेबल पुलसमेत बगेपछि विदुर–३ र तारकेश्वर गाउँपालिकाका बासिन्दालाई सदरमुकाम विदुर पुग्न समस्या भएको छ । पुलबाट आवतजावत गर्न नसकिएपछि स्थानीय अहिले देवीघाटस्थित त्रिशूली नदीमा राखिएको तुइन प्रयोग गर्न बाध्य छन् ।
दैनिक काम, बजार तथा अन्य आवश्यकताका लागि सदरमुकाम आउजाउ गर्नुपर्ने स्थानीयका लागि पुल नहुँदा जोखिम र असहजता बढेको छ । विशेषगरी नदी पार गर्न तुइनको सहारा लिनुपर्ने अवस्थाले स्थानीयको दैनिकी थप कठिन बनेको छ ।
क्षतिग्रस्त झोलुङ्गे पुलको आवश्यक मर्मत गरी छिटो संचालनमा ल्याउन सके यस क्षेत्रका बासिन्दाको आवतजावत सहज हुने देखिन्छ । स्थानीयले पुल पुनःनिर्माण तथा मर्मतको कामलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?