काठमाडौं । विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी आज देशभर श्रद्धापूर्वक मनाइँदैछ । पर्वका अवसरमा बिहानैदेखि काठमाडौं उपत्यकासहित विभिन्न स्थानका गणेश मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजनको भीड लागेको छ ।
शास्त्रीय मान्यताअनुसार भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको विश्वास गरिन्छ । यही अवसरमा अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक र कमलादी गणेशलगायत मन्दिरमा विशेष पूजा भइरहेको छ ।
भगवान् गणेशलाई धार्मिक तथा शुभकार्यको सुरुआतमा सबैभन्दा पहिले पूजा गर्ने परम्परा छ । धर्मशास्त्रविद्हरूका अनुसार तीज व्रतको पारायणपछि गणेशको पूजा गरी जीवनमा आउने बाधा हटोस्, सुख–शान्ति कायम होस् भन्ने कामना गर्ने धार्मिक विधि रहेको छ ।
गणेश चतुर्थीलाई नेवार समुदायले ‘चथा’ पर्वका रूपमा पनि मनाउने गर्छ । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परा रहेको छ । चथासँग जोडिएका आफ्नै सांस्कृतिक तथा धार्मिक विधि पनि प्रचलनमा छन् ।
यस अवसरमा विभिन्न गणेश मन्दिरमा पूजा, आराधना तथा धार्मिक प्रवचनलगायत कार्यक्रम आयोजना गरिँदैछन् । राष्ट्रिय धर्मसभाले समेत विगतदेखि गणेश चतुर्थीका अवसरमा विभिन्न धार्मिक कार्यक्रम गर्दै आएको छ ।
भक्तजनहरूले गणेशको पूजा गरी परिवारमा सुख, शान्ति र समृद्धिको कामना गरिरहेका छन् । गणेशलाई विघ्न हटाउने देवताका रूपमा श्रद्धा गर्ने भएकाले चतुर्थीका दिन मन्दिरमा विशेष चहलपहल हुने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?