काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइँदैछ । विशेषगरी महिलाले धार्मिक विधिअनुसार स्नान तथा पूजा गरी यो पर्व मनाउने परम्परा छ ।
बिहानै उठेर नित्यकर्म पूरा गरेपछि तीज व्रतको पारायण गरी नदी, खोला, पोखरी वा घरमै स्नान गर्ने चलन छ । परम्पराअनुसार दत्तिवनले दाँत माझ्ने तथा गोबर, माटो र खरानी प्रयोग गरेर स्नान गर्ने गरिन्छ ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले हरितालिका तीजको व्रत महिला र पुरुष दुवैले गर्न सक्ने शास्त्रीय व्यवस्था भएपनि ऋषिपञ्चमी महिलाका लागि विशेष पर्व भएको उल्लेख गर्नुभयो ।
धार्मिक मान्यताअनुसार रजस्वलाका समयमा जानेर वा नजानेर भएका त्रुटिबाट मुक्ति पाउन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने गरिन्छ । स्नानपछि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गर्ने परम्परा छ ।
ऋषिपञ्चमीसँग जोडिएको धार्मिक कथाअनुसार इन्द्रले विश्वरूपको हत्या गरेपछि लागेको ब्रह्महत्याको दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा बाँडिएको मान्यता छ । यही धार्मिक विश्वाससँग रजस्वला हुने परम्परालाई जोडेर ऋषिपञ्चमीमा शुद्धीकरणको कर्म गर्ने चलन बसेको बताइन्छ ।
पूजा तथा स्नानपछि सामा, कागुनो, कन्दमूल र कर्कलालगायतका परिकार खाई एक छाक हविष्य बस्ने धार्मिक विधि रहेको छ ।
यस अवसरमा काठमाडौंको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ । मन्दिर जान नसक्ने महिलाले नदी किनार वा घरमै सप्तऋषिको पूजा आराधना गर्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?