बाढीपछिको पुनःस्थापनाका लागि स्रोत अभाव हुन नदिने प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै उहाँले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरुले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुबाटै विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले जनप्रतिनिधिहरुलाई लक्षित गर्दै भन्नुभयो, “यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपदमा हामी एकै ठाउँमा उभियौ, मिलेर काम ग¥यौँ ।”
प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनःस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सडक सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरु पूर्ववत् अवस्थातर्फ फर्कन सहज हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूहरुले सुरुआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरु जोखिममा रहेको विषय उठाउँदै बताउनुभयो । उहाँले स्थानीय जनप्रतिनिधिहरुले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताउँदै त्यसका लागि सरकारले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा बस्ती बसाउने गरी तयारी सुरु गरेको पनि जानकारी गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?