काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले मैतीदेवीस्थित महाकवि देवकोटा संग्राहालयमा ‘महाकवि देवकोटा, मिथ र यथार्थ’ विषयक गोष्ठी आयोजना गर्दैछ ।
प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले कार्यक्रममा देवकोटाका छोरा पद्म देवकोटाले स्मृतिपत्र र महादेव अवस्थीले समीक्षापत्र प्रस्तुत गर्नुहुने जानकारी दिनुभयो ।
वि.सं. १९६६ कात्तिक २७ गते काठमाडौंको डिल्लीबजारमा जन्मनुभएका देवकोटाको निधन विसं २०१६ भदौ २९ गते भएको थियो । करिब १० वर्षको उमेरदेखि साहित्य सिर्जनामा लाग्नुभएका उहाँले ‘मुनामदन’, ‘शाकुन्तल’, ‘सुलोचना’, ‘कुञ्जिनी’ लगायत सयभन्दा बढी कृति नेपाली साहित्यलाई दिनुभएको छ ।
मानवतावाद, प्रकृतिप्रेम र सामाजिक चेतनाले भरिएका देवकोटाका सिर्जना नेपाली साहित्यका अमूल्य सम्पत्ति मानिन्छन् । आधुनिक नेपाली महाकाव्य लेखनका अग्रणी स्रष्टा देवकोटाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनसमेत महत्वपूर्ण योगदान दिनुभएको थियो ।
असाधारण सिर्जनात्मक क्षमताका धनी देवकोटाले तीन महिनामा ‘शाकुन्तल’, १० दिनमा ‘सुलोचना’ र एकै दिनमा ‘कुञ्जिनी’ लेख्नुभएको साहित्यिक इतिहासमा उल्लेख छ । उहाँको योगदानको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?