जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनबाट नेपालमा परेको असरलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष अझ प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताउनुभएको छ ।
जनकपुरधाममा आयोजित पार्टी कार्यक्रममा दाहालले हिमाल पग्लिने क्रम बढ्नु नेपालका लागि मात्र नभई विश्वकै गम्भीर चिन्ताको विषय भएको बताउनुभयो ।
उहाँले हिमालको हिउँ तीव्र गतिमा पग्लँदै जानु वातावरणसँग मात्र सम्बन्धित विषय नभई यसको प्रत्यक्ष असर मानव जीवन र सभ्यतामा पर्न सक्ने उल्लेख गर्नुभयो ।
दाहालले आफू प्रधानमन्त्री भएका बेला अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तन र हिमाली क्षेत्रमा परेको असरबारे नेपालको धारणा स्पष्ट रुपमा राखेको स्मरण गर्नुभयो । अहिले पनि जलवायु परिवर्तनका विषयमा विश्व समुदायको ध्यान केन्द्रित गराउन नेपालले निरन्तर पहल गर्नुपर्ने भएकोले यो विषयलाई नेपालले विश्वका विभिन्न मञ्चमा प्राथमिकताका साथ उठाउन आवश्यक रहेको बताउनु भयो ।
दाहालले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नरहेको उल्लेख गर्दै यसले पानीका स्रोत, कृषि, जैविक विविधता, जनजीवन र अर्थतन्त्रमा समेत प्रभाव पार्दै गएकोले हिमाली क्षेत्रमा भइरहेको तीव्र परिवर्तनलाई समयमै सम्बोधन गर्न नसके त्यसले मानव अस्तित्वमै गम्भीर चुनौती निम्त्याउन सक्ने बताउनुभयो ।
यसैबीच, भोटेकोशी नदीमा बाढी आएका बेला सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारमा सरकारबाट पर्याप्त पहल हुन नसकेको दाहालले बताउनुभयो । उहाँले त्यस्तो संकटको समयमा अन्तर्राष्ट्रिय समुदाय, विज्ञ र दक्ष उद्धार टोलीको सहयोग तत्काल लिन सकिएको भए खोज तथा उद्धार थप प्रभावकारी हुन सक्ने धारणा राख्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?