काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा रोजगारीका लागि नेपाली नागरिकबाट आवेदन माग गरिएको छ । वैदेशिक रोजगार विभागले गम्भीर अपाङ्गता भएका व्यक्तिको हेरचाहका लागि १ हजार ४ सय ६४ जना कामदार छनोट माग गरेको हो ।
मागअनुसार १ हजार १३२ जना महिला र ३३२ जना पुरुष कामदार छनोट हुनेछन् । आवेदनका लागि उमेर २५ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्ने विभागले जनाएको छ ।
इच्छुकले आज राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत बुझाउन सकिनेछ ।
छनोटमा परेका कामदारले मासिक ६ हजार ४ सय ४३ इजरायली मुद्रा पारिश्रमिक पाउनेछन् । इजरायलको प्रचलित नियमअनुसार अतिरिक्त समय काम गरेबापत ओभरटाइम सुविधा पनि उपलब्ध हुने विभागको सूचनामा उल्लेख छ ।
कामदारले प्रत्येक साता ४२ घण्टा काम गर्नुपर्नेछ । सातामा एक दिन बिदा पाउने व्यवस्था रहेको छ भने वार्षिक बिदा इजरायली कानुनअनुसार हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?