काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा रहेको जोखिमपूर्ण ढिस्को भत्काउने काम सुरु गरिएको छ । सवारीसाधन आंशिक रूपमा रोकेर सोमबारदेखि सुरु गरिएको काम आजदेखि ‘ब्याक ह्याम्बर’ प्रयोग गरी तीव्र पारिएको हो ।
डिभिजन सडक कार्यालय चितवनका इञ्जिनियर अर्जुन घिमिरेले सडक बन्द हुने समयमा जोखिमपूर्ण ढिस्को झार्ने काम भइरहेको बताउनु भयो । सोमबार गलको प्रयोग गरिएकोमा आजदेखि छ वटा ब्याक ह्याम्बर परिचालन गरिएको र आवश्यकताअनुसार थप उपकरण परिचालनका लागि निर्माण व्यवसायीलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।
पहिरोको उच्च जोखिममा रहेको उक्त स्थानमा प्राविधिक तथा मजदुरले पेटीको सहायताले भिरमा झुण्डिएर काम गरिरहेका छन् । गत वर्ष असोज ३ र ७ गते ठूलो पहिरो खस्दा तुइन खोलामा १०४ घण्टा सडक अवरुद्ध भएको थियो ।
खोलाको नारायणगढतर्फ रहेको १०५ मिटर उचाइ र १६५ मिटर लम्बाइको ढिस्को सफा गरी रड ‘ड्रिल’ गरेर बाहिरबाट जाली लगाई पहिरो नियन्त्रण गरिनेछ । ‘नेलिङ’ प्रविधिबाट गरिने उक्त काम १० महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २२ करोड २१ लाख रुपैयाँमा बोलपत्र आह्वान गरिएको छ ।
कामका लागि नारायणगढ–मुग्लिन सडकखण्डमा निश्चित समय सवारी आवागमन रोकिने व्यवस्था गरिएको छ । यस सडकखण्डमा मध्यमदेखि उच्च जोखिमका ४३ स्थान पहिचान भएकामा आठ स्थानलाई उच्च जोखिमका रूपमा लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?