कृष्णभीरको अवरोधले यात्रा कष्टकर बन्दै, ५ घण्टाको यात्रा १३ घण्टा बन्दै
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौं यात्रा कष्टकर बनेको छ । भदौ १४ गतेदेखि नियमित मार्ग अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं जाने सवारीसाधन चितवन, हेटौँडा हुँदै दक्षिणकालीको वैकल्पिक बाटोबाट संचालन भइरहेका छन् ।
यसअघि पाँच–छ घण्टामा पूरा हुने यात्रा अहिले १२–१३ घण्टासम्म लाग्ने गरेको छ । यात्राको समयसँगै भाडासमेत बढेको छ । सडक अवरुद्ध हुनुअघि ९ सय रुपैयाँ रहेको डिजेल माइक्रोबसको भाडा अहिले २ हजार रुपैयाँ पुगेको छ भने विद्युतीय माइक्रोबसको भाडा ७ रुपैयाँबाट १५ सय रुपैयाँ पुगेको छ ।
बेँसीसहर माइक्रो काउन्टरले यसअघि दैनिक ४०–५० वटा माइक्रोबस काठमाडौं जाने गरेकामा अहिले पाँच–सात वटा र ठूलो बस पनि दैनिक पाँच–छ वटाबाट घटेर एउटा मात्र संचालनमा रहेको जनाएको छ ।
सडक अवरोधको असर उपचारका लागि काठमाडौं, चितवन र पोखरा ‘रेफर’ हुने बिरामीमा समेत परेको छ । कतिपय बिरामीलाई घुमाउरो बाटोबाट एम्बुलेन्समा लैजानुपर्ने र केहीलाई पोखरासम्म पुर्याएर हेलिकप्टरमार्फत लैजानुपर्ने अवस्था रहेको लमजुङ अस्पतालले जनाएको छ ।
वैकल्पिक बाटो लामो, खर्चिलो र वर्षाले जोखिमपूर्णसमेत रहेकाले नियमित सडक संचालनमा नआएसम्म यात्रुले थप सास्ती खेप्नुपर्ने अवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?