काठमाडौं । नेपालले अंग्रेजलाई पराजय गरेको खुसीयालीमा आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकालिँदै छ । हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा निकालिने परम्परा रहिआएको रणउजेश्वरी भगवती गुठीले जानकारी दिएको छ ।सोहीअनुरुप आज २०७औँ भगवतीको रथ निकाल्न लागिएको हो ।
आज अपराह्न १२ः३० बजेको शुभसाइतमा ब्राह्मणबाट स्वस्ती वाचन गरी तानसेन नगरपालिका–३ को भगवती टोलमा रहेको भगवतीको मन्दिरबाट ऐतिहासिक भवगती जात्रा निकालिने बताइएको छ । विगतका वर्षजस्तो बाजागाजा, भीडभाड र उल्लासका बीच जात्रा नगरिने गुठीको तयारी छ । देश भोटेकोशी बाढीको पीडामा रहेका बेला संयमित र औपचारिक रूपमा जात्रा निकाल्न लागिएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित उच्च पदस्थ व्यक्तिहरूको उपस्थितिमा रथ निकालिने छ । नेपाली सेनाले सलामी दिएर तीन पटक मन्दिर परिक्रमा गराएपछि भगवती रथ यात्रा अगाडि बढ्ने छ । यसलाई भगवतीजात्रा, रथ यात्राअर्थात् सिन्दूर जात्राका नामले पनि चिनिन्छ । भगवतीको मन्दिरबाट शुभसाइतमा निकालिएको भगवतीजात्रा (रथ यात्रा) लाई शीत्तलपाटीको मूलढोका बाहिर निकालेपछि सरकारको तर्फबाट प्रमुख जिल्ला अधिकारीबाट पूजा गरी बलिदिइने छ ।
पाल्पाली प्रशासकका रूपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायत क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तर रूपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?