काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई कर्मचारीको जीवितै उद्धार हुनुले अझै आशा बाँकी रहेको बताउनुभएको छ ।
सामाजिक संजालमार्फत उहाँले कठिन परिस्थितिका बाबजुद उद्धार कार्यमा निरन्तर खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमाण्ड सेन्टरका टोलीलाई धन्यवाद दिनुभयो ।
बाढीपछि सुरुङभित्र फसेका आयोजनाका कर्मचारी सञ्जय साह र कवीर महर्जनलाई आज बिहान उद्धार गरिएको हो । उद्धारपछि पनि अन्य सुरुङमा खोज तथा उद्धार कार्य जारी रहेको गृहमन्त्री गुरुङले जानकारी दिनुभयो ।
साह र महर्जनको उद्धार भइरहेका बेला गृहमन्त्री गुरुङ घटनास्थलमै पुगेर उनीहरू तथा उद्धार टोलीको हौसला बढाउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?