बाढी प्रभावितको उद्धार र पुनःस्थापना प्रभावकारी बनाउन आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा विपद्पछिका सबै गतिविधि मानव अधिकारमैत्री ढङ्गले संचालन गर्नुपर्नेमा जोड दिइएको छ । आयोगले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत प्रभावित जिल्लामा टोली परिचालन गरी उद्धार, घाइतेको उपचार तथा होल्डिङ सेन्टरमा रहेका प्रभावितको अवस्थाबारे प्रारम्भिक अनुगमन गरेको जनाएको छ ।
बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै आयोगले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै उद्धार तथा मानवीय सेवामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, परामर्शदाता, संघसंस्था र सर्वसाधारणप्रति धन्यवाद व्यक्त गरेको छ ।
प्रभावितको राहत र पुनःस्थापनामा निजी क्षेत्रसँग समेत समन्वय गर्न सरकारलाई आग्रह गर्दै आयोगले सर्वसाधारणलाई मानवीय सहयोगमा जुट्न अपिल गरेको छ । प्रभावित परिवारको पीडामाथि नकारात्मक टिप्पणी नगर्न तथा अफवाह फैलाउने सूचना र समाचारबाट सचेत रहन पनि आयोगले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?