काठमाडौं । संगीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति संगीत पुरस्कार’ यस वर्ष संगीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ ।
दार्जिलिङको मिरिकस्थित लभ एन्ड सपोर्ट फाउन्डेसन तथा अम्बर गुरुङ सालिक निर्माण संरक्षण समितिद्वारा बास्कोटालाई भारतीय रुपैयाँ ५१ हजार १११ नगद र ताम्रपत्रसहित सो पुरस्कार प्रदान गरेको हो ।
मिरिकमा आयोजित कार्यक्रमा संस्थाका अध्यक्ष कैलाश राई, सचिव डी. केगिरी, प्रमुख अतिथि गोविन्द सिंह क्षेत्री तथा संस्थापक अध्यक्ष मनोज राइलगायतले बास्कोटालाई सो पुरस्कार सहित सम्मान गरेका हुन् । साथै नयाँ पुस्तामाझ अम्बर गुरुङका कालजयी धुन तथा सिर्जनालाई स्मरण र संरक्षण गर्ने उद्देश्यले सांगितिक कार्यक्रमको आयोजना गरिएको थियो ।
सन् १९७१ मा संगीत निर्देशक तथा गायकका रूपमा व्यावसायिक सांगितिक यात्रा सुरु गरेका बास्कोटाले नेपाली संगीत, चलचित्र, टेलिभिजन तथा सांस्कृतिक क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि योगदान पु¥याउँदै आएका छन् । बास्कोटाले ३ सय ६४ भन्दा बढी नेपाली चलचित्रमा संगीत निर्देशन तथा दुई हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?