काठमाडौँ । देशका विभिन्न भाग, विशेषगरी मध्य भूभागमा भएको भारी वर्षा आज रातिदेखि कम हुँदै भोलि (सोमबार) देखि मौसममा उल्लेख्य सुधार आउने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालका विभिन्न भूभागमा भारी वर्षा गराएको हो ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशका केही स्थानमा १ सय ५० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । यस्तै, कास्की, बागलुङ, पर्वत, लमजुङ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र सर्लाही लगायतका जिल्लाहरुमा एक सय मिलिमिटरभन्दा बढी बर्षा भएको विभागको भनाइ छ ।
हाल मौसमी प्रणाली विस्तारै कमजोर बन्दै गएतापनि आज दिउँसो देशका पहाडी तथा तराईका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको विभागले जनाएको छ ।
आज रातिदेखि भने मौसममा निकै सुधार आउने र भारी वर्षाको सम्भावना नरेहेको मौसमविद्को भनाइ छ । रातिको समयमा कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मात्र मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
त्यसैगरी भोलि सोमबारदेखि देशभर नै मौसम सफा हुँदै जानेछ । विभागले भोलिका लागि देशभर नै कुनै मौसमी जोखिम नरहेको जनाउँदै ‘हरियो’ संकेत जारी गरेको छ । सोमबारदेखि तराई क्षेत्रमा घाम लाग्ने र पहाडी भूभागमा आंशिक बदली रही मौसम सामान्य बन्दै जाने भएकाले सर्वसाधारणले आफ्ना दैनिक कामकाज सहज रूपमा सञ्चालन गर्न सक्ने विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?