चन्द्रागिरिको नैकापबाट स्यूचाटार जाने सडक भासियो, चित्लाङ सडकमा पनि यातायात प्रभावित
काठमाडौं । अविरल वर्षाका कारण चन्द्रागिरि नगरपालिकाका विभिन्न स्थानमा सडक भासिनुका साथै पहिरो जाँदा यातायात प्रभावित भएको छ ।
नैकाप मितेरी चोकबाट स्युचाटार जाने सडक वर्षाका कारण भासिएको छ । यस्तै, चित्लाङ जाने सडकमा पहिरोले रुख ढालेपछि सडक अवरुद्ध भएको छ । सडकमा खसेको रुख तथा पहिरो पन्छाउने काम भइरहेको थानकोट प्रहरी वृत्तका प्रमुख डिएसपी दीपक बहादुर केसीले जानकारी दिनुभएको छ ।
केसीका अनुसार वर्षाका कारण पृथ्वी राजमार्ग पूर्णरूपमा बन्द भएको छ भने त्रिभुवन राजपथ भने सञ्चालनमा छ । त्रिभुवन राजपथमा १० चक्केसम्मका सवारीसाधन सञ्चालन गर्न दिइएको केसीले बताउनुभयो । मकवानपुर प्रहरीसँग समन्वय गरी त्रिभुवन राजपथमा यातायात सञ्चालनको व्यवस्था मिलाइएको पनि डिएसपी केसीले जानकारी दिनुभयो ।
वर्षाका कारण सडक तथा आसपासका क्षेत्रमा थप क्षति हुन सक्ने भएकाले प्रहरीले अवस्थाको निरन्तर निगरानी गरिरहेको केसीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?