काठमाडौं । मोरङ प्रहरीले ३८५ किलो गाँजासहित एक स्कार्पियो कार नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा बरगाछी प्रहरी चौकीले चेकजाँच गर्ने क्रममा भारततर्फ जाँदै गरेको को.१ च ७३९९ नम्बरको स्कार्पियो गाडीलाई रोकी जाँच गर्न खोज्दा चालकले गाडी नरोकी भागेका थिए । प्रहरीका अनुसार भाग्ने क्रममा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिँदा स्कार्पियो दुर्घटनामा परेको थियो । तत्काल प्रहरी टोलीले स्कार्पियोभित्र जाँच गर्दा लुकाइछिपाइ राखेको अवस्थामा १३ पोका गाँजा फेला परेको हो ।
प्रहरीले बरामद गाँजाको तौल ३८५ किलो रहेको जनाएको छ । घटनामा स्कार्पियो चालक फरार रहेकाले उनको खोजी तथा पहिचानको कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुवै सवारीसाधनमा क्षति पुगे पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । दुवै सवारीसाधनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?