बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु, पाल्पामा घरमाथि पहिरो खस्दा तीन जना वेपत्ता
काठमाडौं । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो । केहीबेर अघि तीन जनाको शव निकालिएको बताइएको छ ।
यता, पाल्पामा पहिरोले घर पुरिँदा दुई किशोरीसहित एक पुरूष बेपत्ता भएका छन् । पाल्पाको माथागढी–३ भैसकट्टास्थित ७५ वर्षीय लीलबहादुर घर्ती मगरको घरमा पहिरो पस्दा तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा लीलबहादुर, उनकी १७ वर्षकी छोरी दिना र अर्का स्थानीय १५ वर्षीया झरना घर्ती मगर बेपत्ता भएको स्थानीय जनप्रतिनिधिहरुले जानकारी दिएका छन् । आज विहानै सवा ५ बजेतिर घरमाथिबाट पहिरो खसेको थियो ।
पहिरोले घरमै सुतिरहेका तीन जनालाई पुरेको स्थानीयले बताएका छन् । यस्तै, माथागढी–२ रजौलीका एक जना पुरूषलाई पहिरोले पुरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?