काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा सडक भासिएको छ । आज बिहान करिव पौन ९ बजेतिर मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने स्थानमा त्रिशूली नदीले कटान गर्दा सडक भासिएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक भासिएपछि एकतर्फी मात्रै सडक सञ्चालन भएको छ ।
यता, अविरल वर्षाका कारण चितवनका विभिन्न क्षेत्रमा डुबानको समस्या देखिएको छ । भरतपुर महानगर पालिका वडा नम्बर–१६ को गुम्बाचोक, झनझने र शरणपुर क्षेत्र र १७ को मजुवा क्षेत्रमा नारायणी नदीले डुबान गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार यो क्षेत्रमा अहिले सम्म २६० घर डुबानमा परिसकेको छ । नारायणगढ र देवघाटमा पनि डुबान भएको छ । नदी किनारको गौरेश्वर मन्दिर, आधारभूत विद्यालयसहित नदी किनारमा रहेका केही घर डुबानमा परेको प्रशासनले जानकारी दिएको छ ।
यस्तै, माडीमा पनि रिउ खोलाले डुबान गरेको बताइएको छ । उक्त क्षेत्रमा भएको क्षतिबारे भनय अहिलेसम्म सूचना प्राप्त हुन नसकेको प्रशासनको भनाइ छ । बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाहरू उद्दारमा खटिएका छन् ।
उता पूर्वी नवलपरासी गैँडाकोटमा पनि नारायणी नदीमा डुबान भएको छ । नदी तटीय क्षेत्रमा रहेका द नारायणी रिसोर्ट, होटल रिभर क्राउन लगायतका संरचनाहरूमा डुबानको असर परेको छ । गैँडाकोटको नदी किनार क्षेत्रका घरहरू पनि डुबानमा परेको स्थानीयले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?