काठमाडौं । दिवङ्गत पितृप्रति श्रद्धा अर्पण गर्दै तर्पण, सिदादान र पिण्डदान गर्ने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने यो पक्षमा सनातनी हिन्दू परिवारले आ–आफ्ना दिवङ्गत पितृलाई सम्झँदै परम्परागत विधिअनुसार श्राद्ध गर्ने गर्छन् ।
आज प्रतिपदा तिथिको श्राद्ध गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार प्रतिपदा श्राद्धका लागि निर्धारित विधि पूरा गरिन्छ । धर्मशास्त्रविद्हरूका अनुसार सोह्र श्राद्ध अपराह्नकालमा गर्नु शास्त्रीय परम्परा हो ।
आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका विभिन्न तिथिमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई ‘सोह्र श्राद्ध’ भनिएको हो । पितृ पक्ष, अपर पक्ष वा प्रेत पक्षका नामलेसमेत चिनिने यो समय नेपाली सनातनी संस्कृतिमा पितृप्रति कृतज्ञता व्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ ।
वैदिक सनातन परम्परामा चाडपर्व, यज्ञयागादि तथा ठूला धार्मिक कार्यअघि पितृलाई श्रद्धापूर्वक सम्झिने चलन छ । धार्मिक मान्यताअनुसार श्राद्ध तथा तर्पणबाट पितृप्रतिको दायित्व पूरा हुने र पितृ ऋणबाट मुक्त भइने विश्वास रहिआएको छ ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार आफ्ना पिताको तिथिअनुसार श्राद्ध गर्ने विधान छ । कुनै कारणले तोकिएको तिथिमा श्राद्ध गर्न नसकिए शास्त्रमा त्यसका लागि वैकल्पिक दिनको व्यवस्थासमेत गरिएको छ । आश्विन कृष्ण औँसीदेखि शुक्ल पञ्चमीसम्म रोकिएको श्राद्ध गर्न सकिने तथा त्यसपछि पनि विभिन्न तिथि, नक्षत्र र योगमा श्राद्ध गर्न सकिने व्यवस्था धर्मशास्त्रीय ग्रन्थमा उल्लेख रहेको उहाँले बताउनुभएको छ ।
सोह्र श्राद्धका क्रममा पितृको सम्झना केवल कर्मकाण्डमा सीमित नरही परिवार, वंश र पुस्ताबीचको सम्बन्धलाई स्मरण गर्ने सांस्कृतिक अवसरका रूपमा पनि लिइन्छ । आफ्ना पूर्वजप्रति सम्मान, कृतज्ञता र दायित्वबोध व्यक्त गर्ने यस परम्पराले नेपाली समाजमा पुस्तौँदेखि निरन्तरता पाउँदै आएको छ ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादशैंको क्रम सुरु हुन्छ । त्यसैले दशैंजस्ता ठूला पर्वअघि पितृलाई तृप्त पार्ने कर्म गर्ने परम्परा वैदिक सनातन संस्कृतिमा रहेको धर्मशास्त्रविद्हरू बताउँछन् । यस वर्ष सोह्र श्राद्धको अन्तिम दिन असोज २४ गते सर्वपितृ औँसी अर्थात् पितृ विसर्जन हुनेछ र त्यसपछि असोज २५ गतेदेखि नवरात्र आरम्भ हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?