अमूर्त सम्पदा पुनःस्थापना गर्ने काठमाडौं महानगरको प्राथमिकता, नन्दीकेशर सत्तलको शिलान्यास
काठमाडौं । काठमाडौं महानगरपालिकाले नन्दीकेशर सत्तलको पुनर्निर्माण सुरु गरेको छ । २०७२ सालको भूकम्पपछि जीर्ण बनेर भत्काइएको सत्तल स्थानीयबीचको मतभेदका कारण लामो समयदेखि पुनर्निर्माण हुन सकेको थिएन ।
स्थानीय विवाद प्रशासनिक तथा न्यायिक प्रक्रियाबाट समाधान भएपछि महानगरपालिकाले पुनर्निर्माणको काम अघि बढाएको हो । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गर्दै पुनर्निर्माणको सुरुवात गरेकी हुन् ।
शिलान्यास कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले भत्किएका सम्पदाको पुनर्निर्माण र हराउँदै गएका सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिइएको बताइन् । उनले नन्दीकेशर सत्तल काठमाडौंको पहिचानसँग जोडिएको सम्पदा भएको बताइन् । निर्माणको काम सुरु भइसकेकाले तोकिएको समयभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको महानगरले जनाएको छ । निर्माण अवधि २०८५ भदौ ३० गतेसम्म तोकिएको छ । दुई तलाको सत्तलको चौडाइ १८ फिट हुनेछ भने दक्षिणतर्फको लम्बाइ १४८ फिट र पश्चिमतर्फ १४७ फिट हुनेछ । प्रत्येक तला ३ हजार ८८१ वर्गफिटको हुनेछ ।
सत्तल पुनर्निर्माणका लागि ११ करोड ९८ लाख २५ हजार ६३५ रुपैयाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियामार्फत ८ करोड १६ लाख ९१ हजार ७२३ रुपैयाँमा आर.आर.–आर.जी.एस. निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?