काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं, मकवानपुर, काभ्रेपलाञ्चोक र सिन्धुलीका पाँच जना रहेको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले शुक्रबार र शनिबार गरेको कारबाहीका क्रममा उनीहरूलाई पक्राउ गरेको हा । प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन र ट्रामाडोललगायतका लागुऔषध बरामद गरिएको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ का ३४ वर्षीय विक्रम घले, मकवानपुरको थाहा नगरपालिका–१२ का २४ वर्षीय विजय तामाङ, राक्सिराङ गाउँपालिका–३ का ३३ वर्षीय ललितबहादुर स्याङ्ताङ, काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय गणेश लामा र सिन्धुलीको हरिहरपुर नगरपालिका–११ का ३२ वर्षीय रत्न तामाङ रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाले पक्राउ परेकाहरूको साथबाट पाँच लाख ६० हजार ४ सय नगद, एउटा मोटरसाइकल र छ थान मोबाइल फोनसमेत बरामद भएको छ ।
प्रहरीले बरामद लागुऔषध तथा अन्य सामग्रीसहित पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ । लागुऔषधको कारोबार तथा ओसारपसार नियन्त्रणका लागि उपत्यकाका विभिन्न क्षेत्रमा निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?