काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ । जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्व बोकेको दहचोकस्थित इन्द्रदहमा स्नान तथा दर्शन गर्न भक्तजनको घुइँचो लागेको हो ।
देवताका राजा इन्द्र उक्त दहमा आएर स्नान गरेको जनविश्वास अनुसार हरेक वर्ष इन्द्रजात्राको भोलिपल्ट यो मेला लाग्दैआएको छ । यही दहमा देवराज इन्द्रले स्नान गरेको जनविश्वासअनुसार आज बिहानैदेखि स्नान र दर्शनका लागि भक्तजन आउनेक्रम रहेको छ ।
दर्शनार्थीलाई सहज रूपमा स्नान र दर्शन गर्ने व्यवस्था मिलाइएको छ । मेला भर्न काठमाडौँसहित ललितपुर, भक्तपुर र उपत्यकाका आसपास क्षेत्रबाट धार्मिक पर्यटकको आगमन भइरहेको मेला आयोजकले जानकारी दिएको छ ।
मेलामा कुनै पनि संकट आइनपरोस् भनेर शनिबार साँझ दह तथा त्यस परिसरमा दीप प्रज्वलन गरिएको थियो । इन्द्रायणी तथा नारायणको मन्दिर रहेको यस परिसरमा वासुकी नागको ढढुंगा कलात्मक रूपले राखिएको छ ।
कलंकीबाट करिब नौ किलोमिटरको दूरीमा रहेको इन्द्रदह धार्मिक तथा ऐतिहासिक महत्व रहेकाले मेला लोकप्रिय बन्दै गएको छ । मेलामा सहभागी व्यक्तिको सुविधा तथा मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्न स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीसहित स्वयंसेवक परिचालन गरिएको छ ।
इन्द्रदहको पोखरीको पानीमा स्नान गरेर छेउमा रहेको इन्द्रको दर्शन गर्नाले जन्म–जन्मको पाप नाश हुने जनविश्वास रहेको छ । चन्द्रागिरि–१ का स्थित यस इन्द्रदहको परिसर करिब दुईसय रोपनीमा रहेको छ । भ्यूटावर, सडक स्तरोन्नति, बहुउद्देश्यीय भवनलगायत पूर्वाधार निर्माण सुरु भइरहेकाले आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको चन्द्रागिरि नगरपालिकाको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?