विश्वभर गुन्जियो नेपालको आवाज, प्रधानमन्त्री शाहको सम्बोधनले पायो ठूला न्यूज च्यानलमा स्थान
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको सम्बोधन विश्वभर चर्चामा आएको छ । विश्वका चर्चित सञ्चार माध्यमले प्रधानमन्त्री शाहको सम्बोधनलाई विशेष स्थान दिँदै आममानिसबिच पुर्याएका छन् ।
प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा उठाउनुभएको नेपालको विपतको पीडा, जलवायु न्याय र विश्वमा भावी पुस्ताको भविष्यको मुद्दाका विषयले सबैको मन छोयो । जुन कुरा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बलियोसँग आफ्नो प्रस्तुतिमा समेटेको देखिएको छ ।
सबभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा महासभालाई सम्बोधन गर्दै उहाँले उठान गर्नुभएको मुद्दालाई विश्वका सबभन्दा ठुला न्युज एजेन्सी एपी, एएफपी, रोयटर्सलगायतले स्थान दिएका छन् । त्यस्तै विश्वका सबैभन्दा ठुला सञ्चार माध्यम बेलायतको बिबिसी, अमेरिकाको सिएनएन, कतारको अलजजिरा, भारतको टाइम्स अफ इन्डियालगायतले शाहको सम्बोधनलाई महत्वपूर्ण स्थान दिएका छन् ।
भारतका एनडिटिभी, इन्डिया टुडेलगायत धेरै सञ्चार माध्यमले उहाँको पूर्ण सम्बोधन लाइभ प्रसारण गरेका थिए । प्रधानमन्त्री बनेपछि ठुलो वैश्विक मञ्चमा उहाँको पहिलो सम्बोधन थियो ।
न्युयोर्क टाइम्सले पहिलो विदेश भ्रमणमा युवा प्रधानमन्त्री भए पनि देशले भोगिरहेको विषयलाई सिलसिलेवार प्रस्तुति निकै रोचक रहेको उल्लेख गरेको छ । भोटेकोशीलाई जलवायु न्यायको मुद्दा बनाइएकोमा उसले राम्रो स्थान दिएको छ । न्युयोर्क टाइम्सले बालेन शाहले कालो चस्मा किन लगाउनुभयो भन्ने अर्को टिप्पणी पनि लेखेको छ । चस्माबिना कमै देखिने शाहले राष्ट्रसंघमा पनि निरन्तरता दिएको औँल्याइएको छ ।
अमेरिकाका अन्य स्थानीय मिडियाले पनि उहाँको सम्बोधनका मुद्दालाई प्राथमिकता दिएका छन् । प्रधानमन्त्री शाहको सम्बोधनमा नेपालको राष्ट्रिय हितको मुद्दालाई बलियो ढंगले विश्लेषण गरिएकाले पनि अन्तर्राष्ट्रिय मिडियाले रुचाएको हुन सक्ने मिडिया विश्लेषकहरुको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?