काठमाडौं । त्रिभुवन राजपथ हुँदै हेटौँडाबाट काठमाडौँ आउने तथा काठमाडौंबाट हेटौंडा जाने सवारीसाधनका लागि आवतजावतको समय निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडकमा सवारीको चाप व्यवस्थापन गर्न समय तोकेको हो ।
असोज ८ गतेदेखि परेको अविरल तथा भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीको चाप बढेको प्रशासनले जनाएको छ । सोही कारण मालवाहक तथा यात्रुवाहक सवारीसाधनको आवागमन व्यवस्थित गर्न समय निर्धारण गरिएको हो ।
प्रशासनका अनुसार हेटौँडाको चौकीटोलबाट काठमाडौँतर्फ आउने सवारीसाधनका लागि असोज ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म समय तोकिएको छ । असोज १० गते शनिबार बिहान ४ बजेदेखि ८ बजेसम्म र राति १० बजेदेखि असोज ११ गते बिहान २ बजेसम्म सवारी सञ्चालन गर्न सकिने छ ।
त्यस्तै, काठमाडौँबाट हेटौँडातर्फ जाने सवारीसाधनका लागि सिमभञ्ज्याङ चौकीबाट असोज ९ गते शुक्रबार साँझ ७ बजेदेखि राति ११ बजेसम्म, असोज १० गते शनिबार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म र असोज ११ गते आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्मको समय निर्धारण गरिएको छ ।
मालवाहक सवारीसाधनका लागि प्रशासनले छुट्टै व्यवस्था गरेको छ । अर्को व्यवस्था नभएसम्म इन्धन तथा एलपी ग्यास बोकेका बाहेक १० चक्केभन्दा लामो र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीसाधनलाई त्रिभुवन राजपथमा सञ्चालनमा निषेध गरिएको छ ।
यात्रुवाहक सवारीसाधनको हकमा भने ११ मिटर लम्बाइसम्मका सवारीसाधनले मात्र त्रिभुवन राजपथ प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?