भारी वर्षालाई लक्षित गर्दै प्रमुख राजमार्गमा राति सवारी चलाउन रोक
काठमाडौं । नेपाल प्रहरीले यही असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावनालाई लक्षित विभिन्न राजमार्गमा रात्रि समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
प्रहरी प्रधान कार्यालयले आज दिउँसो सार्वजनिक गरेको सूचनाअनुसार पृथ्वीराजमार्गसहित विभिन्न राजमार्गमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ । पृथ्वीराजमार्ग भएर सञ्चालन हुने सवारीसाधन पनि आज बेलुका ८ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म आवागमनमा पूर्ण रोक लगाइएको छ । मकवानपुर जिल्लाका कान्ति राजमार्ग, भैँसे–भीमफेदी देउराली कुलेखानी हुँदै काठमाडौँ आउने सडक पनि बेलुका ७ः०० देखि सवारी आवागमन पूर्ण रुपमा रोक लगाइएको छ । त्यसैगरी बिपी राजमार्ग पनि बेलुकी ५ः०० देखि बिहान ५ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
साथै नारायणगढ–मुग्लिन सडकखण्डमा पनि आज बेलुका ८ः०० देखि भोलि बिहान ५ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?