चन्द्रागिरि भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिन बन्द
काठमाडौं । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै चन्द्रागिरि नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिन बन्द हुने भएका छन् ।
चन्द्रागिरि नगरपालिकाले बिहीबार सूचना जारी गर्दै असोज ९, १० र ११ गते नगर क्षेत्रका विद्यालयमा नियमित पठनपाठन बन्द गर्न निर्देशन दिएको हो । मौसममा प्रतिकूल अवस्था देखिएकाले विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको सूचनाअनुसार उक्त तीन दिन नियमित कक्षासँगै अतिरिक्त कक्षा संचालन तथा अतिरिक्त क्रियाकलापसमेत नगर्न भनिएको छ । विद्यालय बन्दको निर्णय सम्भावित वर्षा तथा त्यसबाट हुन सक्ने जोखिमलाई ध्यानमा राखेर गरिएको हो ।
नगरपालिकाले अभिभावकलाई आफ्ना बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ । विशेषगरी वर्षाका बेला नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा बालबालिकालाई जान नदिन अनुरोध गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा असोज ९ देखि ११ गतेसम्म विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा, हिमपात, हावाहुरी तथा चट्याङको सम्भावना रहेको जनाइएको छ ।
यस्तै मौसमका कारण बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमसमेत हुन सक्ने चेतावनी दिइएको छ ।
नगरपालिकाले जारी गरेको सूचनामा विद्यालय प्रशासन, शिक्षक, अभिभावक र विद्यार्थीलाई मौसमको अवस्था बुझेर आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?